गल्कोट, बागलुङ
बागलुङको गल्कोटमा युवा खेल प्रतिभा पहिचान र खेलकुदको विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ “माध्यमिक तह (कक्षा १२, अन्डर १९) स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८३” आयोजना हुने भएको छ।
राइजिङ लायन्स स्पोर्ट्स क्लब (Rising Lions Sport Club) र नव प्रभात स्कुलको संयुक्त आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो। प्रतियोगिता आगामी साउन १५ गतेदेखि १७ गतेसम्म गल्कोट नगरपालिका-३, तल्लो लमाईमा सञ्चालन हुने आयोजकले जनाएका छन्।

नगद पुरस्कार र विधागत सम्मान प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले नगद रु. ३०,३३३/- सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्वितीय हुने टोलीले नगद रु. १५,५५५/- का साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
सामूहिक विधाका अतिरिक्त खेलाडीहरूको व्यक्तिगत कौशललाई प्रोत्साहन गर्न विभिन्न विधागत पुरस्कारहरूको समेत व्यवस्था गरिएको छ। जसअन्तर्गत उत्कृष्ट खेलाडी (Best Player), उत्कृष्ट स्पाइकर (Best Spiker), उत्कृष्ट सेटर (Best Setter), उत्कृष्ट लिबेरो (Best Libero) र उत्कृष्ट प्रशिक्षक (Best Coach) विधामा समेत पुरस्कार प्रदान गरिनेछ।
दर्ता र खेल सम्बन्धी नियमहरू:
प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यालयहरूले आगामी साउन १४ गते बिहान १०:०० बजेभित्र टिम दर्ता गराई सक्नुपर्नेछ। टिम दर्ता शुल्क रु. ३,०००/- निर्धारण गरिएको छ।
खेलहरू नकआउट (Knockout) प्रणालीका आधारमा खेलाइनेछ। प्रत्येक विद्यालयको टोलीमा बढीमा १० जना सदस्यहरू (८ जना खेलाडी, १ जना प्रशिक्षक र १ जना टिम म्यानेजर) रहने प्रावधान छ। साथै, प्रतियोगितामा सहभागी हुने खेलाडीहरू अनिवार्य रूपमा फुल जर्सी सेटमा उपस्थित हुनुपर्ने र आफ्नो उमेर तथा परिचय प्रमाणित हुने आवश्यक कागजात (विद्यालयको पत्र र EMIS रेकर्ड) पेश गर्नुपर्ने नियम आयोजक समितिले बनाएको छ।
खेल अवधिभर अनुशासित, मार्सल भावना र आपसी सम्मान कायम राख्न आयोजकले आग्रह गरेको छ। अनुशासन विपरीत कार्य गर्ने वा झगडा गर्ने खेलाडी तथा टोलीलाई प्रतियोगिताबाट तत्काल निष्कासन गरिने समेत चेतावनी दिइएको छ।

विस्तृत जानकारी वा टिम दर्ताका लागि आयोजक समितिका प्रतिनिधिहरूलाई ९८४०७५२२६९, ९८४६७१९५७८, वा ९७६४५४१४१४ मा सिधै सम्पर्क गर्न सकिने क्लबका सचिव भक्त बहादुर अधिकारी, खेल संयोजक मनोज खत्री र अध्यक्ष रोशन बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
