परिचय

वि.सं. २०६८ सालमा स्थापित नव प्रभात स्कूल (NPS) संस्थागत विद्यालय अन्तर्गतको यो स्कूल चिरकालदेखि शिक्षा क्षेत्रमा समर्पित एवं सु-परिचित शिक्षाविद्हरूको निर्देशन र नेतृत्वमा सञ्चालित स्कूल हो । औपचारिक शिक्षा मात्र नभई भविष्यमा सी.टी.ई.भी.टी. बाट सम्बन्धन प्राप्त गरी टेक्निकल कलेज र प्राविधिक शिक्षा समेत प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्नु पनि यस शैक्षिक संस्थाको लक्ष्य रहेको छ ।

यो शैक्षिक संस्था गलकोटमा अवस्थित सात रोपनी जग्गामा फैलिएको छ । भूकम्प प्रतिरोधी शैक्षणिक भवन एवं स्वच्छ, शान्त र रमणीय वातावरणसहितका प्रशस्त भौतिक पूर्वाधारहरूले सम्पन्न यस विद्यालयमा बाल मैत्रीपूर्ण वातावरणमा शिक्षण कार्य गरिन्छ । आफ्ना भावी सन्ततिका लागि सकारात्मक ऊर्जाका साथ भौतिक संसारको सम्यक् बोध गराउने खालको शैक्षिक व्यवस्था गर्नु आधुनिक शिक्षाको अर्को महत्त्वपूर्ण पक्ष भएकोमा नव प्रभात स्कूल निःसन्देह छ । शिक्षा क्षेत्रका विशिष्ट महानुभावहरूको व्यक्तिगत संलग्नता एवं योग्य शिक्षण समूहको निरन्तर सहकार्यलाई यस विद्यालयले आफ्नो सफलताको कडी मानेको छ ।

यस विद्यालयको शिक्षण समूह विद्यालयको वार्षिक शैक्षिक योजनानुसारको अध्यापनका साथमा अतिरिक्त क्रियाकलापमा छात्र वर्गको अनिवार्य सहभागिताका लागि समेत प्रतिबद्ध छ । विद्यार्थीहरूलाई सामुदायिक कार्य, वृक्षारोपण, शैक्षिक भ्रमण, दैनिक योग कक्षा, संगीत, नृत्य, काष्ठकला, चित्रकला र खेलकुद (ब्याडमिन्टन, फुटबल, भलिबल, बास्केटबल, टेबलटेनिस) आदिमा अभ्यस्त गराउनुका साथै जीवनोपयोगी विविध सीपहरूको ज्ञान दिने व्यवस्था समेत नव प्रभात स्कूलले गरेको छ । विद्यार्थीको समग्र हित एवं सर्वाङ्गीण विकासलाई ध्यानमा राखेर विद्यालय परिसरमै व्यवस्थित पुस्तकालय, अत्याधुनिक कम्प्युटर ल्याब, स्वच्छ र स्वास्थ्यानुकूल चमेनागृहको व्यवस्था गरिएको छ । विद्यार्थीहरूलाई पूर्ण रूपमा शैक्षिक परिवेश दिनका लागि अर्ध र पूर्ण आवासीय सुविधाको समेत नव प्रभात स्कूलले व्यवस्था मिलाएको छ । विद्यार्थीहरूको प्रभावकारी शिक्षण एवं अतिरिक्त क्रियाकलापको समेत पूर्ण अभ्यासका लागि नव प्रभात स्कूलले सबैका लागि अनिवार्य दिवा–आवासीय शिक्षणको सिद्धान्तलाई आत्मसाथ गरेको छ । यस्तो व्यवस्थाबाट मात्र समग्रता दक्ष जनशक्तिको उत्पादन सम्भव हुने कुरामा हाम्रो विश्वास छ ।